पूँजीवादको अन्त्य र समाजवाद स्थापनाका निम्ति समाजवादी जागरण: नेता खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूँजीवादको अन्त्यका निम्ति समाजवादी जागरण अभियानको थालनी गरेको बताउनु भएको छ। 

नेकपा (एकीकृत समाजवादी) पार्टीले थालनी गरेको समाजवादी जागरण अभियान २०८० को छैटौं दिन चितवनको राप्ति नगरपालिका ५ भण्डारामा आयोजना गरिएको आमसभामा बोल्दै नेता खनालले पूँजीवादको अन्त्य र समाजवाद स्थापनाका निम्ति समाजवादी जागरण अभियान चलाइएकाे बताउनु भयाे। 

सम्मानित नेता खनालले भन्नुभयो, ‘हाम्रो देश अहिले जुन अवस्थाबाट चलिरहेको छ। यसबाट कोही पनि सन्तुष्ट छैन। यस अवस्थाबाट देशलाई समाजवादतर्फ लैजानका निम्ति हामीले यो समावादी जागरण अभियानको थालनी गरेका हौं। अहिलेको व्यवस्थाले वर्तमान समयमा देखिएका कुनै पनि समस्या समाधान गर्न सक्दैन। यस समाजवादी जागरण अभियानलाई हजारौं जनताहरूले साथ दिनुभएको छ। पूँजिवादको विकल्प समाजवाद मात्रै हो। जसका निम्ति हामीले सुरू गरेको अभियानमार्फत सबैलाई सुन्नेगरी भनिरहेका छौं।’ 

सम्मानित नेता खनालले भन्नुभयो, ‘हामीले राजतन्त्रका विरुद्ध बोल्ने, संगठित हुनका निम्ति पूँजिवाद हामीले नै ल्याएका थियौं। हाम्रो देशमा पूँजीवाद आएको १८ वर्ष भयो। हिजो सामान्तवादीहरूले शोषण गरिरहेका थिए। आज दलालहरूले गरिरहेका छन्। सरकारी संरचना, उद्योग कलकारखाना ध्वस्त पार्ने काम दलाल पूँजीवादले गरिहेको छ। अहिले देशमा पूँजविनदी शोषण बढिरहेको छ। यो थप बढ्ने देखिन्छ। पूँजीवादीहरू मोटाउँदै जाने र जनताहरू अभावमा फस्दै जाने हुन्छन्। देश र जनता दिनप्रति दिन कंगाल बन्ने र दलाल पूँजीवादीहरू रातारात धनाड्य बन्दै जान्छन्। यो व्यवस्था बदल्नका निम्ति हामीले समाजवादी जागरण अभियानको सुरूवात गरेका हौं।’ 

सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ‘मान्छेले मान्छेमाथि शोषण गर्ने व्यवस्था दलाल पूँजीवाद हो । यसको अन्त्य आजको आवश्यकता हो। हामी यस व्यवस्थाको अन्त्य गरेर समाजवादी हासिल गर्न चाहान्छौं। समाजवादमा मात्रै मान्छेले मान्छेमाथि हुने शोषणको अन्त्य गर्न सक्छ। त्यस कारण समाजवादी जागरण यात्राको थालनी गरेका हौं। समाजमा अनेक प्रकारका विभेदहरू छन्। जातीय, धार्मीक, क्षेतीय, लैङ्गिक विभेदहरू छन्। जसको अन्त्यका निम्ति समाजवाद आवश्यक छ।’ 

प्रतिक्रिया