काभ्रेपलाञ्चोक, असार १५। समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोकद्वारा प्रकाशित मुखपत्र ‘संकल्प’ शनिबार एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले संकल्प माथि टिप्पणी गर्दै डिजिटल युगमा पनि पुस्तक तथा पत्रपत्रिका पढ्ने संस्कारको महत्व बढ्दो रहेको बताए। श्रेष्ठले वर्तमान राजनीतिक अवस्थाबारे समेत चर्चा गर्दै सकारात्मक सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका अत्यन्तै आवश्यक भएको उल्लेख गरे।
कार्यक्रमका विशेष अतिथि तथा पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले पत्रकारहरूले कुनै पनि राजनीतिक झण्डा नबोकी निष्पक्ष ढंगले काम गर्नुपर्ने बताए। "पत्रकारले समाजको दुवै पाटो – सकारात्मक र नकारात्मक – देख्न सक्नुपर्छ," वाइबाले भने, "तर, लेखाइ निष्पक्ष हुनुपर्छ।"
यसैगरी, बागमती प्रदेशका पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालले डिजिटल युगमा समेत पठनीय सामग्री प्रकाशन गर्नु सराहनीय काम भएको भन्दै खुशी व्यक्त गरे। "नकारात्मक सूचना छिटो फैलिन्छ," लम्सालले भने, "त्यसैले सकारात्मक खबरलाई प्राथमिकता दिने जिम्मेवारी मिडियाको हो।"
नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईंले राजनीतिक वा संस्थागत भिन्नता भए पनि सबै मिलेर समाजका पक्षमा सकारात्मक काम गर्नुपर्नेमा जोड दिए।
समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष दिनेशराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, कार्यवाहक अध्यक्ष कपिल कोइराला, प्रेस युनियनका नगेन्द्र अधिकारी, प्रेस चौतारीका केदारनाथ तिमल्सिना, प्रेस सेन्टरका रामप्रसाद ढकाल, जनजाति पत्रकार महासंघका इन्द्रबहादुर थापा लगायतले आ–आफ्नो धारणा व्यक्त गरे।
कार्यक्रममा संगठनका महासचिव रोहित दाहाल, कोषाध्यक्ष भरतराज पोखरेल, वरिष्ठ पत्रकार बोधराज त्रिपाठी, काभ्रेका सक्रिय पत्रकारहरू तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.