निसान राई, खोटाङ, असार २३ । स्थापनाको ३३ वर्षपछि खोटाङको जिल्ला अस्पतालको सेवा क्षमता १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ। कोशी प्रदेश सरकारले गत जेठ १२ गते अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेसँगै आज एक कार्यक्रमका बीच स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले नवनिर्मित ५० शय्याको सेवा शुभारम्भ गर्नुभएको हो। मन्त्री राईका अनुसार अस्पताल भवन अझै निर्माणाधीन अवस्थामा भए पनि सेवा विस्तार अनिवार्य भएको हो। "सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्न मिल्दैन। त्यसैले बाध्यतावश ५० शय्याको औपचारिक शुभारम्भ गर्नुपरेको हो," मन्त्री राईले बताउनुभयो।
उहाँका अनुसार खोटाङका लागि स्वास्थ्य मन्त्रालयबाट १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेट औषधि प्रशोधन केन्द्र, उपकरण खरिद, औषधि आपूर्ति र जनशक्ति व्यवस्थापनमा खर्च गरिनेछ। साथै, अब लोकसेवा आयोगमार्फत विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुला गरिने र आगामी भदौसम्ममा सबै सेवा सञ्चालनमा आउने जानकारी मन्त्री राईले दिनुभयो।
भवन निर्माणमा ढिलाइ
हाल निर्माणाधीन अस्पताल भवनको ७० प्रतिशत मात्र काम सम्पन्न भएको जनाइएको छ। अस्पताल भवन रु २२ करोड ९० लाख ४७ हजार ९२ को लागतमा निर्माण भइरहेको छ। निर्माणको जिम्मा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभी ले लिएको छ। भवन निर्माणका लागि २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरिएको थियो। ३० महिनाभित्र सम्पन्न गर्ने सर्तसहितको उक्त सम्झौताको म्याद २०८० पुस २४ गते सकिएपछि हाल मङ्सिरसम्मको लागि म्याद थप गरिएको छ।
आलोचना र प्रतिक्रिया
अस्पताल भवनको काम पूरा नभई सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायत विभिन्न स्थानीय निकाय तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरेका छन्। उनीहरूले अधूरो संरचनाभित्र सेवा शुभारम्भ गर्नु जनताको स्वास्थ्यप्रति गम्भीरताको अभाव भएको आरोप लगाएका छन्।
तर, मन्त्री राईले निर्माण सकिएपछि मात्र सेवा सुरु गर्ने हो भने बजेट फिर्ता जाने र स्वास्थ्य सेवा प्रभावित हुने जोखिम रहने भन्दै यस निर्णयको बचाउ गर्नुभयो।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.