ललितपुर, असार २५ – नेपाली कांग्रेसजस्तो पुरानो र स्थापित दलका निर्वाचित जनप्रतिनिधि रोम प्रसाद दाहालले पार्टीको साधारण सदस्यता र वडा सदस्यको पद दुबै परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीसँगै दर्जनौं युवाहरू पनि रास्वपामा आबद्ध भएका छन्। दाहाल ललितपुरको बागमती गाउँपालिका–४ का निर्वाचित वडा सदस्य हुन्। उनले गाउँपालिका अध्यक्षलाई औपचारिक पत्रमार्फत राजीनामा बुझाएका छन्। उनको रास्वपामा प्रवेशसँगै स्थानीय स्तरमा राजनीतिक तरंग सिर्जना भएको छ।
रास्वपा ललितपुरका नेता कल्याण केसीले दाहालसहित अन्य युवाहरूको प्रवेशलाई स्वागत गर्दै भने, "परिवर्तनको चाहना, नयाँ सोच र देशप्रति उत्तरदायित्वको भावना बोकेर तपाईंहरूले लिएको यो साहसी कदम सराहनीय छ।" उनले लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
राजनीतिक रूपमा सक्रिय र सामाजिक मुद्दाप्रति संवेदनशील रहेका युवा पुस्ताले पछिल्लो समय परम्परागत दलप्रति मोह घटाउँदै वैकल्पिक राजनीतिक धारको खोजी थालेका छन्। यही प्रवृत्तिको प्रतिबिम्बका रूपमा रास्वपातर्फ आकर्षण बढ्दो छ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेलमा भए पनि पार्टीप्रतिको युवापुस्ताको भरोसा कायमै देखिएको छ। राजनीतिक विश्लेषकहरू भन्छन्, "यो क्रम जारी रहे परम्परागत दलहरूको जनाधार संकटमा पर्न सक्छ।"
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.