काठमाडौँ, साउन १। नेपाल समाजवादी ट्रेड युनियन महासंघले हालको मूल्यवृद्धि, महँगी र मुद्रास्फीतिका कारण श्रमिक वर्गको जीवन अत्यन्त कष्टकर बन्दै गएको भन्दै सरकारसँग श्रमिकको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न माग गरेको छ।
महासंघका अध्यक्ष विष्णु प्रसाद पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “दैनिक उपभोग्य वस्तुहरूको निरन्तर मूल्यवृद्धिले श्रमिकहरूको न्यून आम्दानीमा दैनिक जीवन चलाउनै असहज भएको छ।”
विज्ञप्तिमा भनिएको छ, श्रम ऐनले प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने स्पष्ट व्यवस्था गरे तापनि सरकारले श्रमिकको जीवनस्तर उठाउने जिम्मेवारी पुरा नगरेको आरोप लगाइएको छ। साथै, सरकारको तर्फबाट समयमै पारिश्रमिक पुनरावलोकन नगर्नु, श्रमिक जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दाहरू बेवास्ता गर्नु, भ्रष्टाचार, कमिसनतन्त्र र सत्ताको भोगविलासले श्रमिकमाथि अन्याय भएको महासंघको भनाइ छ।
महासंघले सरकारले गठन गरेको पारिश्रमिक निर्धारण समिति र निजी क्षेत्र दुवैले श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकनमा गम्भीरता नदेखाएको भन्दै तत्काल हालको महँगीको अनुपात अनुसार न्यूनतम पारिश्रमिक रु. ३३,००० तोक्न माग गरेको छ।
महासंघले श्रमिकको आधारभूत अधिकारको रक्षा, सामाजिक सुरक्षा, श्रमशोषण अन्त्य र श्रमिकमैत्री व्यवस्था निर्माणका लागि सरकारलाई ठोस कदम चाल्न आग्रह गरेको छ। यदि श्रमिक वर्गसँग सम्बन्धित मागहरू पूरा नगरेमा महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.